वीरगंज, १० भदौ । बुधवार वीरगंज महानगरपालिकाको छपकैयामा दुई समुदायबीच भएको झडपमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले मोहम्मद शाहबुद्दीनलाई नियन्त्रणमा लिएको जनाएको छ।
बुधवार छपकैयामा झण्डा विवादलाई लिएर भएको साम्प्रदायिक झडपमा उनको प्रमुख संलग्नता देखिएकाले छानबिनका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जनाएका छन् ।
छपकैयास्थित टावर लाइटको पोलमा पहिलेदेखि नै रहेको हनुमान जयन्तीको झण्डा (पताका) को छेउमा अर्काे झण्डा राख्ने विषयमा विवाद सिर्जना भएको थियो । विवाद मिलाउन वीरगंज महानगरपालिकाको टोलीले दुवै पक्षको सहमतिमा नेपालको राष्ट्रिय झण्डा सो पोलमा लगाएको थियो। महानगरको गाडी फर्किएलगत्तै राष्ट्रिय झण्डा झिकेर फाल्ने र धार्मिक पताकाको अपमान गर्ने प्रयास भएपछि अवस्था एकाएक तनावग्रस्त बनेको थियो। झडपका क्रममा दुवै पक्षका गरी ६ जना सर्वसाधारण र १ जना प्रहरी जवान घाइते भएका छन् भने सञ्चारकर्मी सञ्जय कानूको मोटरसाइकल तोडफोड भएको छ।
वीरगंजको वडा नं. १, २ र ३ क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ठूलो संख्यामा परिचालन गरी सुरक्षा व्यवस्था चुस्त बनाइएको छ।
मोहम्मद शाहबुद्दी नेपाली कांग्रेस पर्सा २ का सभापति समेत रहेका सहाबुद्धीनले आफनो घरबाट ढुंगामुडा गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको समाचार स्रोतको दावी छ ।






