काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल-चीन सिमाना रसुवागढीस्थित भोटेकोशी नदीमा आएको बाढी पछिको आपतकालीन अवस्थाबारे दोस्रो स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ। बुधबार राति ९ बजेर ५ मिनेटसम्मको अद्यावधिक विवरण समेटिएको उक्त प्रतिवेदनले बाढीका कारण गम्भीर मानवीय र भौतिक क्षति भएको देखाएको हो ।
प्रतिवेदनमा उल्लेख भएअनुसार बिहान ८ बजेर ४० मिनेटमा रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तर पूर्वमा हिम र चट्टानको पहिरो गएको थियो। सोही पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको ठुलो बाढी आएको र तिब्बततर्फबाट भोटेकोशी हुँदै नेपाल प्रवेश गरेको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका त्रिशूली नदीको तटीय क्षेत्रमा सङ्कटपूर्ण अवस्था सिर्जना गरेको छ।
बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ८३ जनाको शव फेला परेको छ जसको सनाखत हुन बाँकी छ । प्राप्त तथ्यांकअनुसार चितवनमा सबैभन्दा धेरै ३२ वटा शव भेटिएका छन् । यसैगरी धादिङमा १८, गोरखामा १५, नुवाकोटमा ११, तनहुँमा ५, रसुवामा १ र नवलपरासी पूर्वमा १ वटा शव फेला परेको प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री कार्यालयले भने मृत्यु हुनेको संख्या ९५ पुगेको जनाएको छ ।
बाढीमा परी ठुलो सङ्ख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डको प्रारम्भिक विवरणअनुसार प्रभावित क्षेत्रबाट २९१ जना विदेशी र ९३ जना नेपाली गरी कुल ३८४ जना यात्रु बेपत्ता भएका छन्। यसका साथै ४४ जना नेपाली सेना, विभिन्न प्रहरी चौकीका २८ जना नेपाल प्रहरी र १३ जना सशस्त्र प्रहरी बल गरी ८५ जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन छन्।
रसुवागढी भन्सार र अध्यागमन कार्यालयका केही कर्मचारीसमेत बेपत्ता भएको विवरणमा उल्लेख छ। घटनामा परी ५५ जना घाइते भएका छन् जसमा रसुवाका ४३, नुवाकोटका ९ र धादिङका ३ जना छन्।
भौतिक क्षतितर्फ बाढीले ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र ४० किलोमिटर पक्की सडक पूर्ण रूपमा ध्वस्त बनाएको छ। विपद्पश्चात् खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ। हालसम्म स्थलगत रूपमा ८० जना र हेलिकप्टरमार्फत ११६ जना गरी कुल १९६ जनाको उद्धार गरिएको छ।
स्थलगततर्फ रसुवाबाट ३०, नुवाकोटबाट ४७ र धादिङबाट ३ जनाको उद्धार भएको छ भने हवाई उद्धारतर्फ नेपाली सेनाले ८८ र निजी हेलिकप्टरले २८ जनालाई सुरक्षित स्थानमा सारेका छन्।
घाइतेहरूको तत्काल उपचारका लागि नुवाकोट जिल्ला अस्पतालमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालका चिकित्सकसहितको टोली खटाइएको छ। प्रभावित क्षेत्रका बाढी पीडितहरूका लागि नेपाली सेनाको नजिकैको ब्यारेकमा अस्थायी बसोबास, खानेकुरा, सफा खानेपानी र औषधीको प्रबन्ध मिलाइएको छ।
प्राधिकरणले अबका दिनमा घाइतेहरूको तत्काल उद्धार तथा उपचार र सम्पर्कविहीन नागरिकको खोजतलासलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।
यसका साथै ‘प्रभावितको सुरक्षा र राहत वितरण, क्षतिको विस्तृत विवरण सङ्कलन, अवरुद्ध भौतिक पूर्वाधारहरूको प्राथमिकताका आधारमा पुनर्निर्माण र विस्थापित परिवारको सुरक्षित स्थानमा पुनः स्थापना’ गर्ने कार्यलाई अगाडि बढाइने प्रतिवेदनमा स्पष्ट पारिएको छ।






