पर्सा , भदौ ११ —
एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा घरेलु टोली मलेशियालाई २७ रनले पराजित गरेको छ।
नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको मलेशियाले ४० ओभर १ बलमा सबै विकेट गुमाउँदै १४३ रन मात्र बनाउन सक्यो। एक समय १ विकेटको क्षतिमा ९४ रन बनाएको मलेशियाविरुद्ध नेपाली बलरहरूले लगातार विकेट लिएपछि नेपालले जित हात पारेको हो।
मलेशियाका अकिल वाहिदले ५६ तथा नाजमुस शाकिबले ५१ रन बनाए। नेपालका ललित राजवंशीले ३ विकेट लिए भने सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले समान २–२ विकेट लिए। हेमन्त धामीले १ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४१ ओभर १ बलमा सबै विकेट गुमाउँदै १७० रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ६१ तथा गुल्सन झाले ४५ रनको योगदान दिए। मलेशियाका अकिल वाहिदले ४ विकेट लिए।
योसँगै नेपालले मलेशियाविरुद्धको दुई खेलको अभ्यास शृंखलामा दुवै खेल जितेको छ। पहिलो अभ्यास खेलमा नेपालले मलेशियालाई ९ विकेटले पराजित गरेको थियो।
एसीसी प्रिमियर कपअघि मलेशियासँगका यी अभ्यास खेलले नेपाली टोलीलाई प्रतियोगिताको तयारीमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।







