वीरगंज , भदौ १२ —
रसुवा भन्सार कार्यालयबाट सामान लिन गएका पर्सा, बारा, मकवानपुर, सिन्धुलीलगायत जिल्लाका १७ जना चालक तथा सहचालक सम्पर्कविहीन भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराइएको छ।
प्रहरीमा बुझाइएको विवरणअनुसार उनीहरू विभिन्न मितिमा वीरगंजबाट रसुवा भन्सार कार्यालयतर्फ सामान लिन गएका थिए। त्यसपछि आफन्तको सम्पर्कमा नआएपछि खोजी तथा उद्धारका लागि प्रहरीलाई जानकारी गराइएको हो।
प्रहरीको विवरणमा ना ४ ख ५१९७ नम्बरको गाडीका चालक मग नारायण पटेल, ना ४ ख ७९१२ का चालक सुबोध पटेल, म.प्र. ०३–००२ ख ४०९३ का चालक अरुण हजरा र म.प्र. ०३–००२ ख ४६९२ का चालक श्यामबाबु ठाकुर रहेका छन्।
त्यस्तै ना ५ ख ७५८८ का चालक उकेश दंगोल, ना ३ ख ४७४८ का चालक संजय तामाङ, म.प्र. ०३–००२ ख ४२९३ का चालक आकाश तामाङ, ना ३ ख ५१८३ का चालक कमरुल होदा अंसारी र सोही गाडीका सहचालक सुभाष पटेल पनि सम्पर्कविहीन सूचीमा छन्।
यसैगरी ना ५ ख ९४१९ का चालक समिम देवान, ना ५ ख ३५५७ का चालक अनुतम बहादुर श्रेष्ठ, म.प्र. ०३–००२ ख ५१०१ का चालक अभिषेक बस्तौला, म.प्र. ०३–००२ ख ५०५७ का चालक घनश्याम बस्तौला, म.प्र. ०३–००२ ख १६०८ का चालक दिनेश परियार र ना ३ ख ४७१९ का चालक पृथ्वी चौधरी पनि सूचीमा रहेका छन्।
प्रहरीको विवरणमा ना ६ ख ४००३ नम्बरको गाडीका चालक ज्ञानबहादुर थिङ र ना ५ ख ९१४४ नम्बरको गाडीका चालक श्यामलाल मोक्तान भने उद्धार गरी सम्पर्कमा रहेको उल्लेख छ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि उनीहरूसँग सम्पर्क हुन नसकेको आशंका गरिएको छ। सम्पर्कविहीन चालक तथा सहचालकको अवस्था पत्ता लगाउन खोजी तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।






