बारा, भदौ १३ —
बाराको विश्रामपुर गाउँपालिका–३ मुसहरवा टोलका ११ वर्षीय राजेश गुप्ता (मिठु) को शंकास्पद मृत्यु भएपछि आफन्तजन र स्थानीयवासी आक्रोशित भएका छन्।
भदौ ९ गते बिहान करिब ९ बजेसम्म गाउँमै देखिएका राजेश त्यसपछि बेपत्ता भएका थिए। उनको खोजी गर्ने क्रममा भदौ ११ गते भारतको रक्सौलस्थित सिङ्गियाही नदीमा शव फेला परेको थियो। भारतीय प्रहरीले शव पोस्टमार्टमका लागि मुजफ्फरपुर पठाएको र हाल शव रक्सौल प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।
राजेशका आफन्तले उनको मृत्यु खोलामा डुबेर नभई गाउँकै केही युवाले ललाई–फकाई अन्यत्र लगेर हत्या गरी शव नदीमा फालेको आशंका गरेका छन्। राजेशले प्रयोग गर्ने मोबाइल गाउँकै एक किशोरको घरमा फेला परेको दाबी गर्दै परिवारले ती किशोरसहित सम्बन्धित व्यक्तिमाथि सूक्ष्म अनुसन्धान गर्न माग गरेको छ।
घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै शुक्रबार साँझ गाउँले तथा आफन्तले टायर बालेर प्रदर्शनसमेत गरेका थिए।
यसैबीच, बारा प्रहरीले घटनाको अनुसन्धानका क्रममा गाउँका ८ जना युवालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको जनाएको छ। तीमध्ये ४ जनालाई सोधपुछपछि रिहा गरिएको र बाँकीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटना अनुसन्धानकै क्रममा रहेकाले राजेशको मृत्युको वास्तविक कारण तथा घटनामा कसैको संलग्नता रहे–नरहेकोबारे थप तथ्य अनुसन्धानपछि मात्रै खुल्नेछ।






