वीरगंज, १३ भदौ –
वीरगंजस्थित हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।
कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको जनाएको छ। कलेज परिसरमा आयोजित कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष डा. राम औतार खेतान, सल्लाहकार जयप्रकाश खेतान, कोषाध्यक्ष सुरेश प्रसाद रुङटा, कलेज प्रमुख किशोरी रायलगायतको उपस्थितिमा ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो।
कलेज प्रमुख रायले विपद्को समयमा शैक्षिक संस्थाले पनि सामाजिक दायित्व निर्वाह गर्नुपर्ने भन्दै पीडितको राहतका लागि सहयोग गरिएको बताए। उनले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।







