नारायणी अस्पतालबाट चोरी भएको नवजात शिशुसहित महिला पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ १४ –

वीरगंजस्थित नारायणी अस्पतालबाट चोरी भएको एक दिने नवजात शिशुलाई प्रहरीले करिब १६ घण्टापछि सकुशल उद्धार गरेको छ। शिशु चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई समेत पक्राउ गरेको छ।

प्रहरीले वीरगंज महानगरपालिका–१६ इनर्वाबाट नवजात शिशुसहित सोही स्थानकी सबिना खातुनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार रातभरि खोजी तथा अनुसन्धान अभियान सञ्चालन गरेपछि शिशुसहित महिलालाई पक्राउ गरिएको हो।

पक्राउ परेकी खातुन र नवजात शिशुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आइतबार राति नारायणी अस्पतालबाट एक दिने नवजात शिशु चोरी भएको थियो। सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वा निवासी रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी थिइन्।

अस्पतालमा रहेकी शिशुको हजुरआमासँग एक महिलाले बच्चा खेलाउने भन्दै शिशु मागेकी थिइन्। बच्चा लिएपछि ती महिला अस्पतालबाट बाहिरिएर सम्पर्कविहीन भएकी थिइन्।

शिशु चोरी भएको जानकारी पाएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। त्यसपछि प्रहरीले खोजी तथा अनुसन्धानलाई तीव्रता दिएको थियो।

सोही क्रममा सोमबार बिहान प्रहरीले वीरगंज–१६ इनर्वाबाट शिशुसहित खातुनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाको कारण र शिशु चोरीको उद्देश्यबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः