पर्सा , भदै १७ –
अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। ३९ वर्षीय मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीसँगको करिब दुई दशक लामो यात्रा अन्त्य गर्ने बताएका हुन्।
मेसी अर्जेन्टिनाका सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले राष्ट्रिय टोलीबाट १९० भन्दा बढी खेल खेल्दै ११० भन्दा बढी गोल गरेका छन्।
उनको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२२ को फिफा विश्वकप तथा २०२१ र २०२४ कोपा अमेरिका जितेको थियो। त्यस्तै, अर्जेन्टिनाले फिनालिसिमा उपाधि पनि जितेको थियो।
आठ पटकका बालोन डी’ओर विजेता मेसी अहिले अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।
सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गर्दै मेसीले यो निर्णय आफ्नो लागि पीडादायी भए पनि सही समय आएको बताएका छन्। उनले अर्जेन्टिनाको जर्सीका लागि आफूले सुरुदेखि नै सक्दो योगदान दिएको उल्लेख गर्दै अब नयाँ पुस्ताका खेलाडीले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने समय आएको बताएका छन्।
“मैले सधैं सबैथोक दिएँ। अब मसँग दिन बाँकी केही छैन,” मेसीले भनेका छन्।
राष्ट्रिय टोलीबाट टाढिए पनि अर्जेन्टिनाप्रतिको आफ्नो प्रेम सधैं कायम रहने बताउँदै उनले अब मैदानबाहिरबाट टोलीलाई समर्थन गर्ने उल्लेख गरेका छन्।
मेसीले आफ्नो परिवार, प्रशिक्षक, सहकर्मी तथा समर्थकप्रति आभार व्यक्त गर्दै विश्वकप जित्नु आफ्नो जीवनकै सबैभन्दा अविस्मरणीय क्षण रहेको बताएका छन्।
उनको सन्याससँगै अर्जेन्टिनाको स्वर्णिम पुस्ताका एक प्रमुख कप्तानको अन्तर्राष्ट्रिय यात्रामा पूर्णविराम लागेको छ।







