भाइबहिनीको शंकास्पद मृत्यु : सौतेनी आमा परिवारको जिम्मामा , अनुसन्धान जारि

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १७ भदौ –

वीरगंज महानगरपालिका–२९ मुसैलीमा केही दिनको अन्तरालमा दुई बालबालिकाको मृत्यु भएपछि घटनामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

मृत्यु भएका बालबालिका ९ वर्षीय आदर्श चौबे र उनकी बहिनी अनुष्का चौबे हुन्। छोटो समयको अन्तरालमा दुवैको मृत्यु भएपछि घटना शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान थालेको हो।

घटनाका क्रममा सोधपुछका लागि नियन्त्रणमा लिइएकी बालबालिकाकी सौतेनी आमा रोशनी मिश्र चौबेलाई हाल परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। आवश्यक परे उनलाई पुनः अनुसन्धानका लागि बोलाउन सकिने प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार दुवै बालबालिकाको मृत्युको कारण यकिन गर्न शव परीक्षणका लागि काठमाडौं पठाइएको छ। शव परीक्षणको प्रतिवेदन आएपछि मृत्युको वास्तविक कारणबारे थप स्पष्ट हुने प्रहरीले जनाएको छ।

यस घटनामा सौतेनी आमाबाट बालबालिकामाथि दुर्व्यवहार भएको आरोपसमेत स्थानीयस्तरमा उठेको छ। तर बालबालिकाका बुवा तारकेश्वर चौधरीले भने आफूकी श्रीमतीमाथि लगाइएको आरोप गलत भएको दाबी गरेका छन्।

उनले बालबालिकाको मृत्यु वंशानुगत स्वास्थ्य समस्याका कारण भएको हुनसक्ने दाबी गरेका छन्।

प्रहरीले भने घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। मृत्युको वास्तविक कारण शव परीक्षण प्रतिवेदन र अनुसन्धानबाट खुल्ने बताइएको छ।

सम्बन्धित पोस्टहरुः