घुस लिएको आरोपमा इन्जिनियरसहित दुई जना पक्राउ

1200x150_1200x150-01.jpg (1)

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत इन्जिनियरले स्ट्रक्चर एनालिसिसको काम स्वीकृत गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनालाई पक्राउ गरेको छ।

आयोगका अनुसार नगरपालिकाको भवन निर्माण तथा वस्ती विकास शाखा प्रमुख इन्जिनियर (सातौं) पदमा कार्यरत दिपा कार्कीले स्ट्रक्चर एनालिसिसको काम स्वीकृत गरिदिएबापत बार्गेनिङ गर्दै सेवाग्राहीलाई पटक–पटक दुःख हैरानी दिएको र घुस/रिसवत मागिरहेको भन्ने सूचना तथा उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले इन्जिनियर कार्की र घुसको रकम लिएर मध्यस्थको भूमिका निर्वाह गर्ने आस्मा कार्कीलाई पक्राउ गरेको हो।

आयोगको टोलीले उनीहरूलाई सेवाग्राहीबाट घुसबापत लिइसकेको ६४ हजार रुपैयाँसहित मंगलबार कागेश्वरी मनोहरा नगरपालिकास्थित कार्यालय, थली, डाँछीबाट नियन्त्रणमा लिएको जनाएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका दुवै जनालाई बुधबार विशेष अदालतको आदेशबाट घुस/रिसवत भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरिएको छ। उनीहरूमाथि थप अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ।

सम्बन्धित पोस्टहरुः