पर्सा , भदौ १७ –
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री–वितरणमा तत्काल रोक लगाउने निर्णय गरेको छ।
पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा ग्यास आपूर्ति प्रभावित भएको हो।
निगम र ग्यास बिक्रेता महासंघबीच बुधबार भएको बैठकले घरायसी तथा अत्यावश्यक क्षेत्रमा ग्यासलाई प्राथमिकता दिने निर्णय गरेको छ। काठमाडौं उपत्यकामा आपूर्ति गर्ने उद्योगले तराईका उद्योगबाट सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै ग्यास ल्याउने व्यवस्था मिलाइएको छ।
बजारमा आउने ग्यास अब अत्यावश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ। व्यावसायिक प्रयोजनमा ग्यास प्रयोग गर्ने व्यवसायीले भने आफैं ग्यासको व्यवस्थापन गर्नुपर्नेछ।
निगमले बजारमा कृत्रिम अभाव र कालोबजारी हुन नदिन आवश्यक निगरानी तथा सहजीकरण गर्ने जनाएको छ।






