वीरगंज/ नेपाल–भारत सीमा हुँदै लागूऔषध तस्करीको ठूलो सञ्जाल सक्रिय रहेको आशङ्का थप गम्भीर बनेको छ । पछिल्लो एक सातामैं वीरगंजका दुई प्रमुख नाकासँग सम्बन्धित सवारीसाधनबाट भारतमा करीब ८२० किलो गाँजा तथा चरेस बरामद भएका छन् भने १२ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतीय सुरक्षा निकायका अनुसार वीरगंज आइसिपी हुँदै भारत प्रवेश गरेका तीनवटा भारतीय मालवाहक ट्रकबाट करीब चार क्विन्टल गाँजा तथा चरेस बरामद भएका छन् । त्यस्तै, वीरगंज भन्सार नाका हुँदै भारत प्रवेश गर्ने क्रममा मितेरीपुल तथा सीमावर्ती क्षेत्रमा चारवटा निजी भारतीय सवारीसाधनबाट चार क्विन्टल २० किलो लागूऔषध बरामद गरिएको बताइएको छ ।
सबैभन्दा गम्भीर प्रश्न भने नेपालतर्फको सुरक्षा जाँचमाथि उठेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा रहेको वीरगंज भन्सार र आइसिपीजस्ता संवेदनशील नाका पार गरेर ठूलो परिमाणमा लागूऔषध बोकेका सवारीसाधन भारतीय भूमिसम्म कसरी पुगे ?
सीमावर्ती स्रोतहरूका अनुसार विगतमा लागूऔषध ओसारपसारसम्बन्धी सूचना नेपाली सुरक्षा निकायसम्म पुग्ने गरे पनि पछिल्लो समय सूचना पाएर पनि प्रभावकारी कारबाही नभएको आरोप छ । केही सुराकीले नेपाली निकायप्रति विश्वास घट्दै गएपछि भारतीय सुरक्षा निकायलाई सूचना दिन थालेको समेत स्रोतको दाबी छ ।
भारतीय पक्षले लगातार नेपालबाट प्रवेश गरेका सवारीसाधनबाट लागूऔषध बरामद गरिरहँदा नेपाली सुरक्षा निकायको निगरानी प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ । के यो केवल सुरक्षा जाँचको कमजोरी हो, वा तस्करलाई नाका पार गराउन कुनै सेटिङ भइरहेको छ ?
यसको जवाफ खोज्न नेपालतर्फको चेकजाँच अभिलेख, सिसिटिभी फुटेज, सम्बन्धित सुरक्षाकर्मीको ड्युटी विवरण तथा भारतीय पक्षबाट पक्राउ परेका व्यक्ति र सवारीसाधनबारे गम्भीर र निष्पक्ष अनुसन्धान आवश्यक देखिएको छ ।
वीरगंजजस्तो संवेदनशील अन्तर्राष्ट्रिय नाकाबाट यति ठूलो परिमाणमा लागूऔषध पार हुनु सामान्य घटना नभएको भन्दै अब यसको पछाडि रहेको वास्तविक सञ्जाल सार्वजनिक गर्नुपर्ने माग उठ्न थालेको छ ।







