निजगढ – मधेस प्रदेश वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको प्रदेश वन निर्देशनालयको निर्देशकको मुख्य जिम्मेवारी नवनियुक्त निर्देशक सुभाषचन्द्र दासले सम्हालेका छन् ।
हिजो भदौ १५ गते सोमवार पदभार सम्हालेसँगै उनले वन, वातावरण, पर्यावरण, प्राकृतिक स्रोत साधन, जैविक विविधता, वन्यजन्तुलगायत विभिन्न पक्षको संरक्षणमा सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो जिम्मेवारीमा कहींकतै आँच आउन नदिई राज्यले तोकेको ऐन, नियम, कानूनको परिधिभित्र रहेर समग्र वन क्षेत्रको संरक्षण, व्यवस्थापन तथा निगरानी प्रभावकारी बनाउँदै निर्देशनालयको संस्थागत व्यवस्थापन व्यवस्थित, पारदर्शी, परिमाणमुखी बनाउन निर्देशनालय मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
निर्देशनालय मातहतका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी डिभिजन वन कार्यालय, भू तथा जलाधार व्यवस्थापन कार्यालयहरूको वस्तुस्थिति अनुगमन, अवलोकन गरी समग्र वन क्षेत्र, भू तथा जलाधार व्यवस्थापनको उचित संरक्षण गर्दै थप वन पैदावर व्यवस्थापनमा समेत ध्यान दिने जनाएका छन् ।
लामो समय वन सेवामा रहेका र एक दशक अघि जिल्ला वन कार्यालय, बारामा सहायक वन अधिकृत हँुदै पछिल्लोपटक डिभिजन वन कार्यालय, सप्तरीको प्रमुख एवं डिएफओ पदको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्दै प्रदेश वन निर्देशनालयको निर्देशक भएका हुन् ।
केही सातायतादेखि निमित्त प्रदेश वन निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका लालबाबू यादवले मन्त्रालयको परिपत्र अनुसार नवनियुक्त निर्देशक सुभाषचन्द्र दासलाई पदको जिम्मेवारी हस्तान्तरण गरेका थिए ।






