वीरगंजमा आयोजित कार्यक्रममा २७ जनाद्वारा रक्तदान

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ २० –

भोटेकोशी बाढीपीडितको राहत तथा मानवीय सेवामा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंज महानगरपालिका–१६ आदर्श टोलमा आयोजित रक्तदान कार्यक्रममा दुई महिलासहित २७ जनाले रक्तदान गरेका छन् ।

आदर्श टोल सुधार समाजको आयोजनामा भएको कार्यक्रममा जुम्ल्याहा दिदीबहिनी प्रियंका कुमारी र प्रिया कुमारी श्रीवास्तवसहित उनका बुवा सुबोध कुमार श्रीवास्तवलगायतले रक्तदान गरेका थिए ।

समाजका अध्यक्ष प्रकाश सिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष परशुराम चौरसियाको प्रमुख आतिथ्य तथा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेलको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा वडा अध्यक्ष चौरसियाले विपद्को समयमा बाढीपीडितको सहयोगका लागि आयोजित रक्तदान प्रशंसनीय रहेको बताए । उनले वडा र महानगरपालिकाबाट समेत आवश्यक सहयोग जारी रहने बताएका छन् ।

समाजका अध्यक्ष ठकुरीले छोटो समयमै कार्यक्रम आयोजना गरिएको भन्दै रक्तदाता तथा सहयोगी सबैप्रति आभार व्यक्त गरे ।

रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेको नेतृत्वको टोलीले रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गरेको थियो ।

सम्बन्धित पोस्टहरुः