राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीमा राष्ट्रिय एकताका लागि आह्वान

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ २२ –

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन परिस्थितिमा संयमित हुँदै एकताबद्ध हुन देशवासीलाई आह्वान गरेका छन् ।

भदौ १० गतेको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रका नाममा विशेष सम्बोधन गरेका राष्ट्रपति पौडेलले विपद्लाई ‘कहालीलाग्दो र अकल्पनीय’ भनेका छन् । बाढी र पहिरोबाट सडक, पुल तथा जलविद्युत् आयोजनालगायत महत्वपूर्ण पूर्वाधारमा पुगेको क्षतिप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

विपद्मा ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति पौडेलले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपालमा रहेका विदेशी नागरिकलाई पनि आफ्नो नागरिकसरह सुरक्षा र संरक्षण गर्ने प्रतिबद्धता जनाउँदै उनले प्रभावित मुलुकका सरकार तथा कूटनीतिक नियोगसँग समन्वय भइरहेको बताएका छन् ।

उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि र स्वयंसेवकको प्रशंसा गर्दै राष्ट्रपति पौडेलले प्रभावित नागरिकका लागि खानेपानी, खाद्यान्न, औषधि र सुरक्षित आश्रयस्थलको व्यवस्था गर्न जोड दिएका छन् ।

विपद्का बेला सहयोग गर्ने छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गर्दै उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायसँग ‘जलवायु न्याय’को मागसमेत गरेका छन् ।

राष्ट्रपति पौडेलले विपद्का बेला राजनीतिक विवाद र दोषारोपणभन्दा राष्ट्रिय एकता र पुनर्निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘यो विभाजनको समय होइन, यो त पुनर्निर्माण र आर्थिक पुनरुत्थानको समय हो ।’

भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि नेपालको विकास मोडेलमाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याएका छन् ।

सम्बन्धित पोस्टहरुः