रक्सौल , भदौ २२ –
भारतको रक्सौलमा मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीय सुशील कुमार, १९ वर्षीय विशाल कुमार, २४ वर्षीय राजीव कुमार र २१ वर्षीय सोनू कुमार रहेका छन् ।
प्रहरीका अनुसार रक्सौल थाना क्षेत्रमा मोटरसाइकल चोरीका लागि रेकी गरिरहेको सूचनाका आधारमा एक्सिस बैंक नजिकबाट दुई जना शंकास्पद युवकलाई नियन्त्रणमा लिइएको थियो । उनीहरूसँग सोधपुछ गर्दा प्राप्त सूचनाका आधारमा आदापुर थाना क्षेत्रको बेलदरवा गाउँस्थित सोनू कुमारको घरमा छापा मारिएको थियो ।
छापाका क्रममा चोरी भएका मोटरसाइकलका पार्टपुर्जा, इन्जिन तथा अन्य सामान बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा प्रयोग भएको भनिएका तीन मोटरसाइकल र पाँच मोबाइल फोनसमेत नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका राजीव कुमारको यसअघि पनि आपराधिक गतिविधिमा संलग्नता रहेको र विभिन्न थानामा मुद्दा दर्ता भएको पाइएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको तथा गिरोहमा संलग्न अन्य व्यक्तिको खोजीका लागि छापा मार्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।






