वीरगंज , भदौ २२-
नेकपा एमाले मधेस प्रदेश कमिटीले वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको भन्ने विषय निराधार रहेको एमालेका केन्द्रीय सदस्य प्रभु हजराले बताएका छन् ।
हजराले एमालेका केन्द्रीय सदस्य तथा वीरगंजका पूर्वमेयर विजय सरावगीले गलत विज्ञप्ति तयार गरी पिन्टु उपाध्यायमार्फत विभिन्न सञ्चारमाध्यममा पठाएर कुर्मीलाई अध्यक्ष पदबाट हटाइएको भन्दै गलत सूचना प्रवाह गरेको आरोप लगाए । पार्टीको प्रतिष्ठामा आँच पुर्याउने गतिविधि गरेको भन्दै सरावगीमाथि कारबाही हुने दाबीसमेत उनले गरेका छन् ।
हजराले सरावगीले पार्टीभित्र अस्थिरता र विवाद सिर्जना गर्न खोजेको आरोप लगाएका छन् । सरावगीले भने आफूले कुर्मीलाई अध्यक्षबाट हटाइएको व्यहोराको विज्ञप्ति प्राप्त गरेपछि पिन्टु उपाध्यायमार्फत विभिन्न स्थानमा पठाएको बताएका छन् ।
यसअघि सरावगी पक्षले मधेस प्रदेश कमिटीको पत्र भन्दै कुर्मीको नियुक्ति विधानविपरीत भएकाले बदर गरिएको दाबी गरेको थियो । उक्त पत्रका आधारमा महानगर कमिटीमा लियाकत अलिलाई अध्यक्ष, सञ्जीवबहादुर छत्कुलीलाई उपाध्यक्ष र जलन्धर कुर्मीलाई सचिव चयन गरी प्रदेश कमिटीले अनुमोदन गरेको दाबीसमेत सार्वजनिक भएको थियो ।
अर्कोतर्फ, एमाले पर्सा जिल्ला कमिटीको सचिवालय बैठकको निर्णयअनुसार सुन्दर प्रसाद कुर्मीलाई महानगर अध्यक्ष नियुक्त गरिएको पत्र पनि सार्वजनिक भएको छ । पत्रमा जिल्ला अध्यक्ष डा. विश्वम्भर प्रसाद शर्माको हस्ताक्षर रहेको छ ।
परस्पर विरोधी पत्र र दाबी सार्वजनिक भएपछि वीरगंज महानगर कमिटीको अध्यक्ष पदलाई लिएर एमालेभित्रको विवाद थप चर्किएको छ । अध्यक्ष पदमा कसको नेतृत्व आधिकारिक हुने भन्ने विषयमा पार्टीको सम्बन्धित निकायबाट अन्तिम निर्णय आउन बाँकी छ ।







