वीरगंज , भदौ २४-
जेनजी शहीद दिवसको अवसरमा वीरगंजमा विभिन्न युवा समूहले दीप प्रज्वलन गरी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
मंगलबार साँझ घण्टाघर चोकमा जेनजी पर्साले आयोजना गरेको कार्यक्रममा संयोजक महादेवप्रसाद कुर्मीले आन्दोलनका क्रममा युवामाथि गोली चलाउने तथा कार्की आयोगको छानबिन प्रतिवेदनमा दोषी देखिएकामाथि तत्काल कारबाही गर्न माग गरे । उनले भ्रष्टाचार, कमिसनखोरी र अनियमितताविरुद्ध तथा सुशासन र सामाजिक न्यायका पक्षमा आवाज उठाउने सबै युवा जेनजी भएको बताए ।
यस्तै, वीरगंजको माइस्थानस्थित गहवामाई मन्दिर परिसरमा पनि जेनजी पर्साको अर्को समूहले दीप प्रज्वलन गर्दै शहीद तथा घाइतेको संघर्ष र योगदानको स्मरण गरेको छ । सहभागीहरूले शहीदहरूको सपना र आकांक्षा पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।
यसै अवसरमा मधेस जागरण अभियानले पनि घण्टाघर चोकमा दीप प्रज्वलन गरी जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।






