वीरगंज , भदौ २४ –
वीरगंज महानगरपालिका–२१ लिपनीबिर्तास्थित विश्वकर्मा सिमेन्ट उद्योगबाट निष्कासित २६ जना स्थायी मजदूर पुनर्बहालीको माग गर्दै धर्नामा बसेका छन् ।
उद्योग प्रशासनले उद्योग घाटामा रहेको भन्दै मजदूरलाई निष्कासन गरेपछि उनीहरूले भदौ १६ गतेदेखि दैनिक बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उद्योगको मूल गेटमा धर्ना दिँदै आएका छन् । मजदूरहरूले विनाशर्त तत्काल पुनर्बहाली गर्न माग गरेका छन् ।
उद्योग प्रशासनले भारतबाट क्लिङ्कर आयात गरी उत्पादन गर्दा लागत बढेकाले उद्योग घाटामा गएको दाबी गरेको छ । तर मजदूरहरूले उद्योगसँग पर्याप्त कच्चा पदार्थ तथा चल–अचल सम्पत्ति रहेकाले घाटाको कारण देखाएर स्थायी मजदूरलाई निष्कासन गर्नु अन्यायपूर्ण भएको बताएका छन् ।
निष्कासित मजदूरलाई पुनर्बहाली नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी उनीहरूले दिएका छन् । मजदूर र उद्योग प्रशासनबीचको विवाद समाधानका लागि वार्ता तथा सहमतिको पहल भने अझै स्पष्ट हुन सकेको छैन ।
साभारः प्रतिक दैनिक






