वीरगंज मुख्य सडक विस्तार : नेपाल टेलिकम र सडक डिभिजनबीच विवाद

1200x150_1200x150-01.jpg (1)

वीरगंज, भदौ २४ –

वीरगंजको मुख्य सडक विस्तारका क्रममा घण्टाघर क्षेत्रमा सडक सीमा निर्धारणको विषयलाई लिएर नेपाल टेलिकम र सडक डिभिजन कार्यालय हेटौँडाबीच विवाद देखिएको छ ।

सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियानअन्तर्गत टेलिकमको स्वामित्वमा रहेको जग्गा तथा भवनसमेत सडक सीमामा परेको भन्दै टेलिकमले आपत्ति जनाएको हो । टेलिकमले आफू सडक विस्तारको विरोधमा नभएको तर घण्टाघरलाई केन्द्र मानेर गरिएको नापी तथा स्वीकृत नक्सा र कानुनी प्रक्रियाविपरीत आफ्नो संरचनामा हस्तक्षेप गर्न खोजिएको दाबी गरेको छ ।

टेलिकमका वीरगंज निर्देशक श्रीभद्र घिमिरेले यसअघि नापी कार्यालयले घण्टाघरलाई केन्द्र बनाएर नापजाँच गरिसकेको दाबी गर्दै पछिल्लो निर्णयबारे आफूहरूलाई जानकारी नदिइएको बताए । उनका अनुसार यही विषयलाई लिएर टेलिकम अदालतसमेत गएको छ ।

यता सडक डिभिजनले मुख्य सडकको केन्द्रबाट दायाँ–बायाँ २५/२५ मिटर सडक सीमा कायम गर्ने मापदण्डअनुसार संरचना हटाउँदै आएको छ । घण्टाघरदेखि माइस्थानसम्मको केही क्षेत्रमा दूरीसम्बन्धी अन्योल देखिएपछि पुनः नापजाँच गर्ने तयारी भइरहेको सडक डिभिजनले जनाएको छ ।

टेलिकमले भने घण्टाघर क्षेत्र वीरगंजको ऐतिहासिक तथा सार्वजनिक महत्त्व बोकेको स्थान भएकाले सडक विस्तारसँगै यसको संरक्षण र व्यवस्थित विकासलाई पनि ध्यान दिनुपर्ने जनाएको छ । टेलिकमको भवन भत्काइएको विषयमा कम्पनीले अदालतको प्रक्रिया र आदेशलाई समेत आधार बनाउँदै आपत्ति जनाएको छ ।

घण्टाघर क्षेत्रमा सडकको मध्यबिन्दु कसरी निर्धारण गर्ने, पहिले गरिएको नापी किन पुनरावलोकन गर्नुपरेको हो र २५ मिटरको मापदण्ड कसरी लागू गर्ने भन्ने विषयमा देखिएको विवादको अन्तिम टुंगो सम्बन्धित प्राविधिक तथा कानुनी प्रक्रियाबाट लाग्ने देखिएको छ ।

सम्बन्धित पोस्टहरुः