वीरगंज , भदौ २५ –
ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ परेका अनमोल छपोलिया भनिने अनमोल साह हाजिरी जमानीमा रिहा भएपछि पर्सा प्रहरीको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठेको छ।
अदालतको आदेशपछि पक्राउ परेका साहले बिरामी भएको बताएपछि नारायणी अस्पताल हुँदै प्रभु अस्पतालमा उपचार गराइएको र बुधबार हाजिरी जमानीमा रिहा भएपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएको स्रोतले जनाएको छ। पीडित पक्षले भने उनलाई हिरासतबाट जोगाउन स्वास्थ्यको बहाना बनाइएको आरोप लगाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार अदालतले १० दिनभित्र अनुसन्धान पूरा गर्न र थुनामा राख्न आवश्यक नदेखिए बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार साहलाई हाजिरी जमानीमा रिहा गरिएको उनले बताएका छन्।
साहविरुद्ध मुद्दा दायर गरेका पन्नालाल प्रसादले आफूले लाखौँ रुपैयाँ बराबरको धनमाल ठगी भएको दाबी गर्दै प्रहरी अनुसन्धानप्रति आशंका व्यक्त गरेका छन्। उनले आर्थिक तथा पहुँचका आधारमा अनुसन्धान प्रभावित भएको हुनसक्ने आरोप लगाएका छन्।
यसअघि त्रिशाला रेष्टुरेन्टमा कार्यरत सुनिता तामाङको मृत्यु प्रकरणमा समेत साह पक्राउ परेर तत्काल हाजिरी जमानीमा रिहा भएको घटनालाई जोड्दै पीडित पक्षले प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएको छ। उनीहरूले विगतका घटनासमेत निष्पक्ष रूपमा छानबिन गरी कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने माग गरेका छन्।







