वीरगंज , भदौ २५ –
पर्साको पटेर्वासुगौलीमा १७ किलो गाँजा बरामद भएको घटनामा प्रहरीले गरेको खानतलासीको प्रक्रिया र समयलाई लिएर परिवार तथा स्थानीयले प्रश्न उठाएका छन्।
इलाका प्रहरी कार्यालय पटेर्वाको टोलीले राति करिब २ः२५ बजे पटेर्वास्थित एक घरमा खानतलासी गरी १७ किलो गाँजा बरामद गरेको जनाएको छ। घटनामा घरधनी सुरज यादवलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। उनका छोरा सुभाष यादवलाई भने बिहानै हिरासतबाट मुक्त गरिएको छ। प्रहरीले भथौडाबाट दुखी महतोलाई समेत पक्राउ गरेको जनाएको छ।
परिवारले प्रहरी टोलीले राति घरको मुख्य ढोकाको ताल्चा फुटाएर प्रवेश गरेको, सामान छरपस्ट पारेको तथा वृद्ध महिलाबाट चाबीको झुप्पा लिएर दराज खोलेको आरोप लगाएको छ। परिवारले दराजमा रहेको नगद तथा गरगहनासमेत प्रहरीले लगेको दाबी गरेको छ। यद्यपि प्रहरीले उक्त आरोप अस्वीकार गरेको छ।
पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले परिवारले लगाएको आरोप प्रहरीमाथिको आरोप मात्र भएको बताएका छन्। प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।
यस घटनामा रातिको समयमा खानतलासी गर्नुपर्ने अवस्था के थियो, गाँजा कहाँबाट बरामद भयो, खानतलासी तथा बरामदीको मुचुल्का कसरी तयार गरियो र त्यस क्रममा को–को रोहवरमा थिए भन्ने विषय स्पष्ट हुनुपर्ने देखिएको छ। परिवारले उठाएका आरोप र प्रहरीको दाबीलाई सम्बन्धित प्रमाण तथा कानुनी प्रक्रियाका आधारमा परीक्षण गर्नुपर्ने देखिन्छ।
अपराध अनुसन्धानका क्रममा प्रहरीले कानुनले दिएको अधिकार प्रयोग गर्न सक्ने भए पनि खानतलासी र बरामदी प्रक्रिया कानुनी मापदण्डअनुसार भएको हुनुपर्ने हुन्छ। त्यसैले घटनाको निष्पक्ष छानबिनबाट वास्तविकता सार्वजनिक गर्नु आवश्यक देखिएको छ।







