वीरगंज , भदौ २५ –
वीरगंजस्थित नारायणी अस्पतालमा एकपटकमा कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणीसहित देशका १२ संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवगृह निर्माण तथा क्षमता विस्तार गर्ने नीतिगत निर्णय गरेको हो।
निर्णयअनुसार नारायणी, कोशी, गजेन्द्रनारायण सिंह, भरतपुर, भेरी र डडेलधुरा अस्पतालमा शवगृह निर्माण वा क्षमता विस्तारको प्रक्रिया अघि बढाइनेछ। यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला, पाटन, पोखरा, राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह बनाइने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विपद्का बेला शव व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित, मर्यादित र वैज्ञानिक बनाउन तथा फरेन्सिक र मेडिको–लिगल सेवा प्रभावकारी बनाउन यस्तो पूर्वाधार विकास गर्न लागिएको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विगतका विपद्का साथै भोटेकोशी बाढीमा समेत शव व्यवस्थापन चुनौतीपूर्ण बनेको बताएकी छन्। भविष्यमा यस्ता समस्या दोहोरिन नदिन अस्पतालमै पर्याप्त क्षमताको शवगृह आवश्यक रहेको उनको भनाइ छ।
शवगृहको क्षमता विस्तारले शवको सुरक्षित संरक्षण, पहिचान, परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया व्यवस्थित गर्न सहयोग पुग्ने मन्त्रालयले जनाएको छ।






