वीरगञ्ज । वीरगञ्जमा स्रोत नखुलेको ठूलो परिमाणको भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको बीआर ०६ एटी ६४४५ नम्बरको मोटरसाइकलबाट भारतीय रुपैयाँ ४ लाख ५० हजार बरामद भएको हो।
प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो करिब ४ः३० बजे मोटरसाइकल रोकी जाँच गर्ने क्रममा भारत बिहारको मोतिहारी जिल्ला पलानवा थाना–१० का करिब ५५ वर्षीय अशोक कुमारले मोटरसाइकलको डिक्कीमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त रकम फेला पारेको जनाएको छ।
प्रहरीका अनुसार बरामद रकममा ५०० दरका ८९१ थान, २०० दरको १ थान र १०० दरका ४३ थान भारतीय नोट रहेका छन्।
रकमसहित मोटरसाइकल र अशोक कुमारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।






