नवलपरासी । दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्। नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–१२ हर्कपुरमा बिहान करिब ६ः५० बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ गइरहेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो।
ठक्करपछि दुवै बसमा सवार १८ जना घाइते भएका हुन्। घाइतेहरूलाई उपचारका लागि चितवनका विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये लु.२ ख ६४५७ नम्बरको बसमा सवार कालिकोटको तिलागुफा नगरपालिका–३ का ३६ वर्षीय धनमान हमाल र गैँडाकोट नगरपालिका–५ की ६० वर्षीया लीला थापाको पुरानो मेडिकल कलेज, चितवनमा उपचार भइरहेको छ।
त्यस्तै, लु.२ ख ६०३६ नम्बरको बसका चालक भरतपुर महानगरपालिका–४ का ४७ वर्षीय सन्तोषबहादुर गुरुङसहित सात जनाको नयाँ चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नयाँ चितवन मेडिकल कलेजमा उपचाररत घाइतेहरूमा गैँडाकोट–७ की १२ वर्षीया आत्रिया पौडेल, गैँडाकोट–१५ की ४० वर्षीया माधवा ज्ञवाली, गोरखाका ३५ वर्षीय शंकर बयलकोटी, गैँडाकोट–२ की ३८ वर्षीया सीता ज्ञवाली, उनकी ११ वर्षीया छोरी जस्विन ज्ञवाली र चितवनको रत्ननगर–२ की १० वर्षीया दिभा रानाभाट रहेका छन्।
अन्य घाइतेहरूमा बारा कलैया–९ का ६० वर्षीय मोहन भैया साह, भरतपुर–२ की ३१ वर्षीया निशा तिवारी र उनका ८ वर्षीय छोरा ऐट्रेन भट्ट, दाङका निमलाल खड्का र उनकी श्रीमती अमृता खड्का, रुपन्देहीको मायादेवी–६ का मनोज गुरुङ र उनकी श्रीमती हुमा गुरुङ, गैँडाकोट–५ का ५२ वर्षीय प्रेमबहादुर रानाभाट तथा गैँडाकोट–६ की मिरा आचार्य रहेका छन्।
प्रहरीका अनुसार घाइतेहरूको अवस्था र दुर्घटनाको विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको छ। दुर्घटनाको कारणसमेत खुलाउने गरी प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।







