उत्कृष्ट पाँच स्वास्थ्य संस्था सम्मानित

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाअन्तर्गत जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ।

महानगरपालिकाको सभाहलमा शुक्रबार सम्पन्न गोष्ठीमा महानगरअन्तर्गतका ३४ स्वास्थ्य चौकीका प्रमुख तथा साझेदार संस्थाका प्रतिनिधिसहित ४४ जनाको सहभागिता रहेको थियो। गोष्ठी दुई ब्याचमा भदौ २३–२४ र २५–२६ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिएको थियो।

महानगरका स्वास्थ्य संस्थाहरूको वार्षिक कार्यसम्पादन, सेवा प्रवाह तथा प्राप्त उपलब्धिको समीक्षा गर्ने उद्देश्यले आयोजित गोष्ठीमा विगत तीन वर्षको प्रगतिसँग चालु वर्षको उपलब्धिको तुलना गर्दै छलफल गरिएको थियो।

कार्यसम्पादन तथा प्राप्त प्रगतिका आधारमा लिपनी बिर्ता स्वास्थ्य चौकी, पर्सैनी बिर्ता स्वास्थ्य चौकी, मनियारी स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्र छपकैया–१ र आधारभूत स्वास्थ्य केन्द्र–२ लाई उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा सम्मान गरिएको छ।

महाशाखाका अनुसार विगत तीन वर्षको तुलनामा यस वर्ष केही सूचकमा कार्यप्रगति आंशिक रूपमा कमी देखिएको छ। केन्द्रबाट प्राप्त विवरण र स्वास्थ्य संस्थाको स्थलगत अवस्थाबीच पूर्णरूपमा मेल नखाँदा प्रगति विवरणमा यस्तो अन्तर देखिएको जनाइएको छ।

कार्यक्रमका अध्यक्ष तथा वीरगञ्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलमले स्वास्थ्य सेवा नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको विषय भएकाले यसको प्रभावकारिता र गुणस्तरमा महानगरपालिकाले विशेष ध्यान दिएको बताउनुभयो।

उहाँले केन्द्रबाट प्राप्त तथ्यांक र स्थलगत अवस्थाबीच देखिएको अन्तरलाई सुधार गर्दै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न सबै स्वास्थ्यकर्मीलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिनुभयो।

त्यस्तै, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहराले पारदर्शी मूल्यांकनका आधारमा उत्कृष्ट स्वास्थ्य संस्थालाई प्रोत्साहनस्वरूप सम्मान गरिएको बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा काम गर्ने क्रममा देखिएका प्राविधिक तथा व्यावहारिक त्रुटि सुधार गर्दै आगामी दिनमा स्थलगत अनुगमनलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो।

उहाँका अनुसार केन्द्रमा पठाइने विवरण र वास्तविक फिल्ड अवस्थाबीचको दूरी घटाउन नियमित अनुगमन तथा तथ्यांकको यथार्थपरक अभिलेखीकरणमा विशेष जोड दिइनेछ।

जहिर आलमले सञ्चालन गर्नुभएको गोष्ठीमा स्वास्थ्य सेवा प्रवाहका उपलब्धि, चुनौती, समस्या तथा आगामी कार्ययोजनाबारे समेत छलफल गरिएको थियो।

महानगरपालिकाले स्वास्थ्य संस्थाको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन आगामी वर्षदेखि यस्तो वार्षिक प्रगति समीक्षा गोष्ठीलाई नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित पोस्टहरुः