अग्रगामी मोर्चाको जनकपुरमा भेला

1200x150_1200x150-01.jpg (1)

जनकपुरधाम । अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिको आयोजनामा शनिबार जनकपुरधाममा बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

देशमा देखिएको राजनीतिक तथा व्यवस्थागत संकटको समाधान गर्दै ‘सिस्टम सुधार’को दिशामा अघि बढ्ने संकल्पसहित आयोजित कार्यक्रममा सहभागी नेताहरूले देशभक्त, लोकतान्त्रिक तथा परिवर्तनकारी शक्तिहरूबीच एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रमले देशलाई संकटबाट निकास दिन तथा विद्यमान राजनीतिक प्रणालीमा सुधारका लागि अग्रगामी शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेको छ। भेलाले सम्पूर्ण देशभक्त, लोकतान्त्रिक एवं सच्चा परिवर्तनकारी शक्तिहरूलाई अग्रगामी मोर्चामा आबद्ध हुन विशेष अपिलसमेत गरेको छ।

कार्यक्रमको अध्यक्षता जसपा नेपाल मधेस प्रदेश अध्यक्ष बालकिशोर यादवले गर्नुभएको थियो। कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय संरक्षक तथा पूर्वमन्त्री जनार्दन शर्मा, जसपा नेपालका राष्ट्रिय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत, आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह, नागरिक उन्मुक्ति पार्टीकी राष्ट्रिय अध्यक्ष रोशन चौधरी, नेपाल संघीय समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्वमन्त्री रिजवान अन्सारी, बहुजन एकता पार्टीका राष्ट्रिय अध्यक्ष हरिन्दन अम्बेडकर, खम्बुवान राष्ट्रिय मोर्चाका महासचिव रणेन्द्र थिम्राहाङ लगायत विभिन्न दलका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन आम जनता पार्टी (आजपा) मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले गर्नुभएको थियो भने स्वागत मन्तव्य नेपाल संघीय समाजवादी पार्टी मधेस प्रदेशकी पूर्वगृह राज्यमन्त्री बिमला अन्सारीले गर्नुभएको थियो।

कार्यक्रममा सहभागी नेताहरूले मुलुकको वर्तमान राजनीतिक अवस्थामाथि समीक्षा गर्दै वास्तविक रूपान्तरण, समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि अग्रगामी शक्तिहरूबीच एकता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

अग्रगामी मोर्चाले आगामी दिनमा पनि संगठन विस्तार तथा राजनीतिक प्रशिक्षणलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित पोस्टहरुः