पर्सागढीमा कंश वध मेला

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज- पर्साको पर्सागढी नगरपालिकामा कृष्ण जन्माष्टमीको अवसरमा वर्षौंदेखि परम्परागत रूपमा आयोजना हुँदै आएको कंश वध मेलाको उद्घाटन प्रतिनिधिसभा सदस्य सुशील साह कानुले प्रमुख अतिथिका रूपमा गरेका छन्।

सांसद सुशील साह कानुले वर्षौंदेखि निरन्तर हुँदै आएको कंश वध मेलाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भई मञ्चमा उपस्थित हुँदा आफूलाई छुट्टै गर्व र आत्मीयताको अनुभूति भएको बताए। उनले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समाजमा धार्मिक आस्था, आपसी सद्भाव, एकता र भाइचाराको भावना थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

सांसद कानुले मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्व रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। कंश वध मेलाले नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति र परम्परासँग जोड्नुका साथै यसको महत्व बुझाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

कार्यक्रममा पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठक, विभिन्न वडाका वडा अध्यक्षहरू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका उपसभापति दिलीप कुर्मी, महाधिवेशन प्रतिनिधि सुधीर पटेल, डा. चन्द्रभूषण सिंह, क्षेत्र नं. २ का सभापति फैयाज मियाँ, बहुदरमाई नगर सभापति चन्दन यादव, पर्सागढी नगर सभापति कवि अर्याल, समाजसेवी बुद्धि राई लगायत स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

मेलाका क्रममा धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै स्थानीय परम्परा झल्काउने विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको थियो।

सम्बन्धित पोस्टहरुः