राजविराज , भदौ २८ –
गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर महिलाले बच्चा जन्माएको घटनापछि अस्पतालले एक चिकित्सकसहित छ जना कर्मचारीलाई कामकाजबाट हटाएको छ।
घटनाका दिन प्रसूति वार्डमा ड्युटीमा रहेका डा. उषा देव, स्टाफ नर्स मनिषाकुमारी साह, सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई अर्को व्यवस्था नभएसम्म कामकाजबाट अलग गरिएको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले बताएका छन्।
राजविराज–१४ परसाही टोलकी २९ वर्षीया बबिता पासमानले अस्पतालको मूल गेटबाहिर बच्चा जन्माएको भिडियो भदौ २५ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घटनाको वास्तविकता पत्ता लगाउन अस्पतालले आफ्नै छानबिन समितिसहित विभिन्न निकायले छुट्टाछुट्टै समिति गठन गरेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार सुप्रभात श्रेष्ठको नेतृत्वमा, जिल्ला प्रशासन कार्यालय सप्तरीले स्वास्थ्य कार्यालय प्रमुख डा. सतीशकुमार यादवको नेतृत्वमा तथा मधेश प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले सदस्य किरणकुमारी साहको नेतृत्वमा छानबिन समिति गठन गरेका छन्। समितिहरूले अनुसन्धान अघि बढाइरहेका छन्।







