वीरगंज , भदौ २९ –
पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनबाट चोरी भएको ट्र्याक्टर प्रहरीले ठोरी गाउँपालिका–४ गोपी बस्ती आपबगैँचाबाट बरामद गरेको छ। ट्र्याक्टर चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् भने अर्का व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ।
महुवनका ट्र्याक्टर धनी दिनेशकुमार जयसवालको ना.६ त ४४८२ नम्बरको ३८० आइचर ट्र्याक्टर गण्डक नहरको उत्तरपट्टि रहेको किरणभूमि पशुपालन फर्मबाट चोरी भएको थियो। बिहान फर्ममा पुग्दा ट्र्याक्टर नदेखिएपछि जयसवालले प्रहरी चौकी महुवनमा खबर गरेका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्याल र प्रहरी चौकी महुवनका प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको संयुक्त टोलीले खोजी गर्दा ट्र्याक्टर गोपी बस्ती आपबगैँचाबाट फेला पारेको हो।
प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा पोखरिया नगरपालिका–४ रानीगञ्ज रहरियाका सनोज साहलाई पक्राउ गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताएका छन्।
घटनामा संलग्न अर्का एक व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। बरामद ट्र्याक्टर कानुनी प्रक्रिया पूरा गरी धनीलाई बुझाउने तयारी गरिएको छ।







