बारा , भदौ २९ –
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ जीतपुर बजारमा यस वर्षको गणेश चतुर्थी महोत्सव सुरु भएको छ। हरेक वर्ष आयोजना हुँदै आएको महोत्सव यसपटक सात दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
महोत्सव सुरु हुनुअघि सोमबार निकालिएको शोभायात्रामा हात्ती, घोडा, बाजागाजा तथा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो। शोभायात्रामा जीतपुर बजार तथा आसपासका क्षेत्रबाट आएका सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको आयोजक समितिका अध्यक्ष श्रीराम साह कानुले बताएका छन्।
अध्यक्ष कानुका अनुसार महोत्सव अवधिभर दिउँसो र राति नेपाल तथा भारतका चर्चित भजन–कीर्तन र झाँकीका कलाकारले प्रस्तुति दिनेछन्। धार्मिक कार्यक्रमसँगै सांस्कृतिक प्रस्तुतिका कारण महोत्सवमा भक्तजन तथा दर्शकको सहभागिता बढ्ने अपेक्षा गरिएको छ।
करिब १९ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको जितपुरको गणेश चतुर्थी महोत्सवलाई मधेश प्रदेशकै ठूलो गणेश चतुर्थी महोत्सवका रूपमा आयोजकले दाबी गरेका छन्। यस वर्ष महोत्सव सञ्चालनका लागि करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
महोत्सवका लागि भगवान् गणेशलाई प्रसादका रूपमा चढाउन २८० किलोको लड्डु तयार गरिएको छ। गत वर्ष २६० किलोको लड्डु बनाइएको थियो। यस वर्ष लड्डुको परिमाणसमेत बढाइएको आयोजकले जनाएको छ।
महोत्सवमा भारतको मोतिहारीका सन्नी मिश्रा, पुनम शर्मा–२, छोटु राज, निभा जयप्रकाशलगायत कलाकारले विभिन्न सांस्कृतिक तथा भजन–कीर्तन प्रस्तुति दिनेछन्।
यसअघि पाँच दिनसम्म सीमित हुँदै आएको महोत्सव यस वर्ष सात दिनसम्म सञ्चालन गरिनेछ। धार्मिक तथा सांस्कृतिक कार्यक्रमसँगै स्थानीय कलाकार र भक्तजनको सहभागिताले महोत्सवलाई थप आकर्षक बनाउने आयोजकको अपेक्षा छ।
असोज २ गते महोत्सवको औपचारिक समापन गरिनेछ। समापनपछि भगवान् गणेशको प्रतिमा बाजागाजासहित बागमती नदीमा लगेर विसर्जन गरिने अध्यक्ष कानुले बताएका छन्।







