अन्तरिक्षमा अमेरिकी हतियार तैनाथ, पहिलोपटक स्वीकार

1200x150_1200x150-01.jpg (1)

वासिङ्टन , भदौ ३० –

अमेरिकाले पृथ्वीको कक्षमा सैन्य प्रयोजनका लागि अन्तरिक्ष हतियार तैनाथ गरेको पहिलोपटक सार्वजनिक रूपमा स्वीकार गरेको छ ।

अमेरिकी वायुसेना सचिव ट्रोय मेन्कले अन्तरिक्षमा तैनाथ हतियार अमेरिकी सेनालाई शत्रुको आक्रामक कारबाहीबाट सुरक्षित राख्न आवश्यक रहेको बताएका छन् । एअर, स्पेस एन्ड साइबर कन्फरेन्समा उनले बदलिँदो सुरक्षा चुनौती सामना गर्न अमेरिका तयार रहेको बताएका छन् ।

यद्यपि मेन्कले तैनाथ गरिएको हतियारको क्षमता, प्रकृति र कक्षमा कहिले पठाइएको हो भन्नेबारे खुलाएका छैनन् । अमेरिकी अधिकारीहरूले रुस र चीनले अमेरिकी स्याटेलाइटलाई निशाना बनाउन तथा अवरुद्ध गर्न सक्ने सैन्य प्रविधि विकास गरिरहेको बताउँदै आएका छन् ।

अमेरिकी प्रशासनले क्षेप्यास्त्र तथा हवाई खतराविरुद्ध विकास गर्न लागेको ‘गोल्डेन डोम’ प्रतिरक्षा प्रणालीमा अन्तरिक्षमा आधारित क्षमता र इन्टरसेप्टर क्षेप्यास्त्रसमेत प्रयोग गर्ने योजना बनाएको छ ।

सन् १९६७ को अन्तरिक्ष सन्धिले पृथ्वीको कक्षमा आमविनाशकारी हतियार राख्न प्रतिबन्ध लगाए पनि अमेरिका, रुस र चीनले अन्य प्रकारका सैन्य अन्तरिक्ष क्षमता विकास गर्दै आएका छन् ।

सम्बन्धित पोस्टहरुः