झापा , भदौ ३० –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री बालेन शाहको सचिवालय सदस्य भएको दाबी गर्दै सरकारी कार्यालय अनुगमन गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्माले आफू रास्वपाको नेता र प्रधानमन्त्रीको सचिवालयमा रहेको भन्दै विभिन्न सरकारी कार्यालय, शैक्षिक संस्था तथा संघसंस्थामा पुगेर दबाब र धाकधम्की दिने गरेको प्रहरीले जनाएको छ ।
उनले प्रधानमन्त्रीको सचिवालय सदस्य भएको बताएपछि जिल्ला प्रशासन कार्यालयबाट अनुगमनका लागि सरकारी गाडीसम्म उपलब्ध गराइएको प्रहरी स्रोतको भनाइ छ । सोही गाडी प्रयोग गरी उनी सरकारी कार्यालयमा अनुगमनका लागि पुग्ने गरेको बताइएको छ ।
हल्दिबारी गाउँपालिका पुगेर फर्किएपछि गतिविधि शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा उनी रास्वपाको केन्द्रीय सदस्य नरहेको र प्रधानमन्त्रीको सचिवालयमा समेत नरहेको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार विश्वकर्मालाई सोमबार पक्राउ गरी पाँच दिनको म्याद थप गरिएको छ । प्रहरीले झुटो परिचय दिएर लाभ लिएको वा कसैलाई हानिनोक्सानी पुर्याएको भए जानकारी गराउन आग्रह गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।







