गण्डकीलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउन संघको सहयोग रहने

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ ३० –

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउन संघ सरकारबाट आवश्यक सहयोग र सहजीकरण गर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा गण्डकीका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटासँगको भेटमा श्रेष्ठले ‘गण्डकी उज्यालो’ कार्यक्रममार्फत बाँकी घरधुरीमा विद्युत् पहुँच विस्तार गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

गण्डकीमा अझै १ हजार ७१७ घरधुरीमा विद्युत् सेवा पुग्न बाँकी रहेको उल्लेख गर्दै श्रेष्ठले ती घरधुरीमा यथाशीघ्र विद्युत् पुर्‍याउन संघ सरकारले सहयोग गर्ने बताए । दुर्गम क्षेत्रमा सौर्यलगायत नवीकरणीय ऊर्जाको प्रयोगलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

श्रेष्ठले विद्युत् पहुँच विस्तारसँगै खपत बढाउने पूर्वाधार र प्राविधिक क्षमता विकासमा पनि ध्यान दिनुपर्ने बताए । बाढीबाट प्रभावित गोरखाको चुङडुम्रीस्थित लघु जलविद्युत् केन्द्र पुनर्निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत योजना अघि बढाउन सकिने उनले बताए ।

भेटमा मन्त्री देवकोटाले गण्डकीलाई पूर्ण विद्युतीकरण भएको प्रदेश घोषणा गर्ने तयारी भइरहेको जानकारी दिँदै बागलुङको निसी र चीनसँगको कोराला नाकासम्म विद्युत् विस्तारका लागि संघ सरकारको सहयोग मागेका छन् ।

सम्बन्धित पोस्टहरुः