वीरगंज, ३० भदौ । क्यासिनोमा नेपाली नागरिक प्रवेश गराई जुवा तास खेल्ने खेलाउने कार्यमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले ११ जनालाई गरुड क्यासिनोबाट पक्राउ गरेको जनाएको छ ।
भदौ २९ गते दिउँसो २ बजे काठमाडौं, बुढानिलकण्ठ नगरपालिका १ तौलुङ स्थित गरूड क्यासिनोभित्र नेपाली नागरिक प्रवेश गराई जुवा तास खेलाई रहेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको संयुक्त प्रहरी टोलीले क्यासिनोमा चेकजाँच गर्दा नेपाली नागरिक प्रवेश गराई क्वाइनमा नगद सटही गरी हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जनाएका छन् ।
प्रहरीले रामेछाप, गोकुलगंगा गाउँपालिका–६ घर भई जिल्ला काठमाडौं, कागेश्वरी मनहरा न.पा.–४ थली वस्ने वर्ष ३४ को विकी लामा, सोलुखुम्बु, माकालुङ गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने वर्ष ३९ को नुवाङ शेर्पा, दुधकुण्ड नगरपालिका–६ घर भई गोकर्णेश्वर नगरपालिका–९ बस्ने वर्ष ३९ को पाशाङ शेर्पा, सिन्धुली, गोलन्जर गाउँपालिका–५ घर भई कागेश्वरी मनहरा नगरपालिका–७ वस्ने वर्ष ३२ को ज्योती मगर, दोलखा, बैतेश्वर गाउँपालिका–८ घर भई काठमाडौं बानेश्वर बस्ने वर्ष ३५ को नारायण खत्री, काठमाडौं, गोकर्णेश्वर नगरपालिका–२ घर भई बस्ने वर्ष ४४ को दिल लामा, काभ्रे, रोशी गाउँँपालिका–१ घर भई काठमाडौं ठमेल बस्ने वर्ष ४४ को अशोक लामा, नुवाकोट, दुप्चेश्वर गाउँपालिका–३ घर भई गोकर्णेश्वर नगरपालिका–५ बस्ने वर्ष ३२ को संजय तामाङ, रामेछाप, उमाकुण्ड गा.पा.–४ घर भई हाल जिल्ला ललितपुर, महालक्ष्मी नगरपालिका–३ बस्ने वर्ष ४० को आषिश खड्का, ललितपुर, ललितपुर महानगरपालिका–६ बस्ने वर्ष ४९ को सविनमान श्रेष्ठ, धनकुटा, जोरपाटी गाउँँपालिका–४ घर भई काठमाडौं पेप्सीकोला बस्ने वर्ष ३० को सुदिप अधिकारीलाई पक्राउ गरिएको प्रवक्ता थापाले जनाएका छन् ।
उनीहरुको साथबाट मोबाइल थान ९, नगद सटही गर्न प्रयोग हुने क्वाईन रू. ५० हजार लेखिएको क्वाइन थान ८, रू. दश हजार लेखिएको क्वाइन थान १९, रू १०००।– लेखिएको क्वाइन थान ८८, रू. १०००– लेखिएको क्वाइन थान ५ र नेपाली नगद रू. १० लाख ८५ पचासी हजार छ सय नगदसहित नियन्त्रणमा लिई जुवा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दुई दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रवक्ता प्रउ थापाले जनाएका छन् ।
केही दिनअघि वीरगंजको क्लार्क रिसोर्टस्थित गोल्डेन फिंगर क्यासिनोबाट सखुवाप्रसौनी गापाका अध्यक्ष्F जसवन्त यादव र इप्रका पोखरियाका पूर्व प्रहरी निरीक्षक प्रदीप पौडेलसहित आठ जना पक्राउ परेका थिए । उनीहरु हिजो धरौटी तिरेर रिहा भएको घटना सेलाउन नपाउँदै नेपाल प्रहरीले पुनः क्यासिनोहरुको अनुगमन कडा बनाएको जनाएको छ ।







