वीरगंज, ३१ भदौ । नेशनल मेडिकल कलेजका आवासीय चिकित्सक पेन–डाउन गरी आन्दोलनमा उत्रिएका छन् ।
आधारहीन मुद्दा फिर्तालगायत ६ वुँदे माग राखी बुधवारदेखि वीरगंज–१८ भेडियाहीमा रहेको नेशनल मेडिकल कलेजका चिकित्सकहरुले अस्पताल प्रशासनले पेसागत अधिकार र सुरक्षाका मागहरूप्रति लगातार उदासीनता देखाएको आरोप लगाएका छन् ।
अस्पतालका प्रशासन प्रमुखलाई सम्बोधन गर्दै जारी गरिएको माग अनुसार, यसअघि पटक–पटक मौखिक आग्रह गरिनुका साथै दुर्ई दिनअघि लिखित रूपमा समेत मागपत्र पेस गरिएको थियो । तर प्रशासनबाट कुनै पनि अर्थपूर्ण पहल नभएपछि बाध्य भएर पेन–डाउन आन्दोलनको घोषणा गर्नुपरेको चिकित्सकहरूले जनाएका छन् ।
६ बुँदे मागहरुमा पहिलो वर्षका सात जना आवासीय चिकित्सकहरूका विरूद्ध दायर गरिएका सबै आधारहीन तथा बदलाको भावनाले प्रेरित मुद्दाहरू तत्काल फिर्ता लिनुपर्ने, चिकित्सा शिक्षा आयोगको मापदण्ड र सिफारिस अनुसार लगातार २४ घण्टाको ड्युटीपछि अनिवार्य रूपमा अफ–ड्युटी (विश्राम) को व्यवस्था गरिनुपर्ने, जसले चिकित्सक र बिरामी दुवैको सुरक्षा सुनिश्चित गरोस्, नेपाल सरकारसँग भएको सहमति बमोजिम आवासीय चिकित्सकहरूको ८औँ तहको तलब कुनै पनि ढिलासुस्ती बिना नियमित रूपमा समयमै भुक्तानी हुनुपर्ने, आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सहभागी हुने कुनै पनि चिकित्सकमाथि तलब कटौती वा अन्य कुनै किसिमको भेदभावपूर्ण कारबाही नगरिने लिखित ग्यारेन्टी हुनुपर्ने, शुक्रवार वा आइतवार बिदा लिँदा मानव संसाधन विभागद्वारा जबरजस्ती अनुपस्थित देखाई शनिवारको भत्ता कटौती गर्ने अनुचित नीति खारेज गरिनुपर्ने र यसअघि काटिएको भत्ता फिर्ता हुनुपर्ने, प्रशासन वा संकायका तर्पmबाट आवासीय चिकित्सकहरूलाई दिइने शैक्षिक क्षति वा फेल गराउने धम्कीपूर्ण चेतावनीहरू पूर्ण रूपमा बन्द गरिनुपर्ने, र शैक्षिक मूल्यांकनलाई जायज आन्दोलन दबाउने हतियार बनाउन नपाइने लगायत छन् ।
मागहरू आधिकारिक रूपमा सम्बोधन नभएसम्म यो आन्दोलन निरन्तर जारी रहने समेत उनीहरुले चेतावनी दिएका छन् ।







