वीरगंज, ३१ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म सम्पर्कविहीन रहेका बारा,कलैया उपमहानगरपालिका वडा नम्बर २३ बैराटपुरका ३० वर्षीय सुवास पटेलको आज कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।
बैराटपुर गाउँको उत्तरपट्टि भएर बग्ने बंगरी खोलाको किनारमा रहेको शमशान घाटमा उनको दाहसंस्कार गरिएको हो। २० दिन देखि बेपत्ता रहेका पटेलको बाढीमै परेर निधन भएको भन्दै परिवारजनले उनको आत्माको शान्ति र क्रियाको श्राद्धको क्रिया पूरा गर्न गरुड पुराणमा भएको धार्मिक परम्परा अनुसार निजको दाहसंस्कार गरिएको निजका बुवा पन्नालाल राउतले जानकारी गराए ।
आर्थिक अवस्था कमजोर रहेको सोपरिवारले हालसम्म कुनै निकायबाट राहत एवं क्षतिपूर्ति केही नपाएको भन्दै सरोकारवाला निकायबाट त्यसतर्फ ध्यान दिन आग्रह गरेको छ । वीरगंज-१२ मुर्लीका नुरुल होदा अन्सारीको ट्रकको सहचालकको रुपमा काम गर्दै आएका पटेल रसुवा भन्सारबाट समान ल्याउन उनी त्याहा गएका थिए ।
भदौ १० गते बिहान ८:२४ बजेसम्म उनीसँग अन्तिम पटक कुरा भएको र त्यसपछि उनको फोन नलाग्ने गरेको र उनले लगेको गाडी समेत फेला नपरेपछि घरपरिवारले बताएका छन् ।
त्यसैगरी,कलैया उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष आमिन अन्सारीका अनुसार उनले बाढी पिडितमा परेर मृत्युवरण गरेका पटेलको घरपरिवारलाई आफूले सक्दो सहयोग गर्ने आश्वासन दिए।






