वीरगंज, ३१ भदौ । पर्सा जिल्लाको पर्यटन प्रवर्द्धन, पर्यटकहरूको सुरक्षा तथा सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पर्साको पहलमा एक नयाँ प्रवर्तन कार्यको शुरूवात गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले आज प्रेस विज्ञप्ति जारी गरी पर्सा जिल्लाका ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय स्थलहरूको पहिचान र सोसम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले अनलाइन साइट तथा क्युआर कोड सार्वजनिक गरेको हो ।
नयाँ अनलाइन साइट र क्युआर कोडबाट पर्सा जिल्लामा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय स्थलहरूको विस्तृत जानकारी लिन सकिने, वीरगंजदेखि सम्बन्धीत स्थानसम्म पुग्न लाग्ने अनुमानित समय र बाटोको जानकारी पाउन सकिने, पर्यटकहरूको सहजताका लागि होटल, रेष्टुरेन्ट तथा रिसोर्टहरूको सुविधा र उपलब्धता तथा सुरक्ष्Fा तथा आपतकालीन अवस्थाको लागि नजिकको प्रहरी कार्यालय तथा सम्बन्धीत सम्पर्क फोन नम्बरहरू रहेको जनाएको छ ।
त्यस्तै सम्बन्धित स्थानसम्म जाने सडक र यातायातको वर्तमान अवस्था, नजिकै उपलब्ध अस्पतालहरूको जानकारी, गन्तव्यसम्म सजिलै पुग्नका लागि गुगल नक्सा समेत समावेश गरी आधिकारिक वेबसाइट पर्सा टुरिजम सञ्चालनमा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले पर्यटक तथा आम सर्वसाधारणलाई उक्त क्युआर स्क्यान गरी वा पर्सा टुरिजम अनलाइन साइट प्रयोग गरेर आफूलाई आवश्यक पर्ने सम्पूर्ण सूचनाहरू प्राप्त गर्न अनुरोध गरेको छ। यस किसिमको प्रयासले पर्साको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन हुनुका साथै पर्यटकहरूको यात्रा थप सुरक्षित र व्यवस्थित बन्ने जिप्रका, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी गराएका छन् ।






