काठमाडौं । सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिँदै घुस मागेको आरोपमा काठमाडौं डिल्लीबजारस्थित नापी कार्यालयका नापी अधिकृत डिल्लीबहादुर वली नौ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार डिल्लीबजार ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुखसमेत रहेका नापी अधिकृत वलीले छुट जग्गा दर्ताको सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाउने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको सूचना तथा उजुरी परेको थियो।
उक्त सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले वलीलाई घुसबापत लिइसकेको नौ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो।
आयोगले वलीलाई २०८३ भदौ ३१ गते काठमाडौंको टोखा नगरपालिका–५, बसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको जनाएको छ। उनलाई नियन्त्रणमा लिँदा घुसबापत लिइएको नौ लाख रुपैयाँसमेत बरामद गरिएको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख छ।
वलीविरुद्ध घुस/रिसवत तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। विशेष अदालतको आदेशबाट २०८३ असोज १ गते म्याद थप भएसँगै आयोगले अनुसन्धानलाई अगाडि बढाएको जनाएको छ।







