वीरगंज , असोज २ –
वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौमा २३ अर्ब ४६ करोड १५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यो मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो।
भदौ मसान्तसम्मको संकलनसँगै कार्यालयले वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा गरेको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले बताएका छन्।
कार्यालयका अनुसार बिस्कुट, दलहन, कपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख राजस्व योगदान गर्ने आयातित वस्तु हुन्। भदौमा बिस्कुटबाट करिब १ अर्ब ७८ करोड र दलहनबाट १ अर्ब ४६ करोड रुपैयाँ राजस्व उठेको छ।
भदौ ३१ गते मात्रै ४४ करोड ७२ लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको थियो। उक्त दिनको दैनिक लक्ष्य ५८ करोड २४ लाख रुपैयाँ रहेकामा ७६.७९ प्रतिशत प्रगति भएको हो। सो दिन पैठारी भई जाँचपास भएका प्रमुख २० वस्तुबाट मात्रै ४१ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।






