वीरगंज , असोज ४
पछिल्लो समय सर्पदंशका घटना बढ्दै गएको छ। वीरगंजस्थित नारायणी अस्पतालमा सर्पदंशका कारण दुई जना महिला भेन्टिलेटरमा उपचाररत रहेका छन्।
उपचाररतमध्ये रौतहटको लौकाहा पोखरियाकी १७ वर्षीया किरण कुमारी र बाराको विश्रामपुर गाउँपालिकाकी ३५ वर्षीया रिना देवी रहेका छन्। दुवै जनाको नारायणी अस्पतालका मेडिकल अफिसर डा. दीपक चौरसियाको समूहले उपचार गरिरहेको छ।
सर्पदंशबाट बच्न राति तथा खेतबारीमा हिँड्दा टर्च वा बत्तीको प्रयोग गर्ने, जुत्ता लगाउने र घर वरपर झाडी तथा फोहोर नराख्ने चिकित्सकले सुझाव दिएका छन्। सर्पले टोकेमा घाउ चिर्ने, विष चुस्ने, कडा गरी बाँध्ने वा घरेलु उपचार गर्नेभन्दा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने चिकित्सकको सुझाव छ।
सर्पदंशपछि समयमै उपचार पाएमा ज्यान जोगाउन सकिने भएकाले सर्पले टोकेको शंका लागेमा ढिला नगरी अस्पताल लैजान आवश्यक रहेको चिकित्सकले बताएका छन्।







