भदौमा बारामा १४४ अपराधका मुद्दा दर्ता, ४४ फरार प्रतिवादी पक्राउ

1200x150_1200x150-01.jpg (1)

बारा , असोज ४ –

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भदौ महिनामा जिल्लाभर १४४ वटा अपराधका मुद्दा दर्ता भएका छन्। तीमध्ये सामाजिक अपराधका ३२, आत्महत्याका २८, सवारी ज्यानका १३, महिला तथा बालबालिकासम्बन्धी ११, चोरीका ५ र ज्यानसम्बन्धी २ मुद्दा रहेका छन्।

आर्थिक अपराधतर्फ २१ मुद्दा दर्ता भएका छन्, जसमा बैंकिङ कसूर ११ र ठगीका १० मुद्दा छन्। प्रहरीले यस अवधिमा १ हजार २२६ पेन्डिङ मुद्दामध्ये ५६ वटा फछ्र्यौट गरेको जनाएको छ।

अदालतबाट दोषी ठहर भई फरार रहेका ४४ जना पक्राउ परेका छन्। उनीहरूबाट ११ वर्ष ४ महिना २५ दिन कैद तथा १८ लाख ६१ हजार ५ सय रुपैयाँ जरिवाना असुल भएको प्रहरीले जनाएको छ।

लागूऔषधतर्फ ६ मुद्दामा ३ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १६८.१६ किलो गाँजा, १.९६ ग्राम ब्राउन सुगर र १८ हजार ३ सय ट्रामाडोल ट्याब्लेट बरामद भएको छ।

यस्तै, १९ हजार ८९० लिटर अवैध मदिरा तथा कच्चा पदार्थ बरामद गरी १८ वटा भट्टी नष्ट गरिएको छ। भन्सार छलीका ९ लाख ६८ हजार ७० रुपैयाँ बराबरका सामान बरामद भएका छन्।

भदौमा ८४ वटा सवारी दुर्घटनामा १२ जनाको मृत्यु र १२२ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने ९९९ सवारीलाई कारबाही गरी ९ लाख ८५ हजार ५ सय रुपैयाँ राजस्व असुल गरिएको प्रहरीले जनाएको छ।

यस अवधिमा घरेलु हिंसाका १७४ उजुरीमध्ये १५२ वटा मिलापत्र र ३ वटा अदालत पठाइएको छ। हराएका २८ जनामध्ये १६ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः