वीरगंज , असोज ४ –
वीरगंज–पोखरिया सडकखण्डका विभिन्न स्थानमा गहिरा खाल्डाखुल्डी परेपछि सवारी दुर्घटनाको जोखिम बढेको छ। राजमार्गबाट आईसीपी, सुक्खा बन्दरगाह तथा परवानीपुरतर्फ जाने सडकका विभिन्न भाग जीर्ण बनेका छन्।
दैनिक ठूलो संख्यामा ट्रक, ट्यांकर, कन्टेनर तथा अन्य सवारीसाधन आवतजावत गर्ने सडकमा खाल्डाखुल्डीका कारण चालकलाई सवारी सञ्चालनमा समस्या हुने गरेको छ। विशेषगरी रातिको समयमा खाल्डा नदेखिँदा सवारी अनियन्त्रित हुने तथा दुर्घटनामा पर्ने जोखिम बढेको चालक तथा स्थानीय बताउँछन्।
महीनौंदेखि सडक जीर्ण रहे पनि मर्मतसम्भारमा सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको चालक उमेश साहले गुनासो गरेका छन्। उनका अनुसार अत्यधिक मालवाहक सवारीको चाप हुने सडकमा खाल्डाखुल्डीका कारण गति नियन्त्रण गर्नसमेत समस्या हुने गरेको छ।
स्थानीय यात्रु शनि पटेलले सडक प्रयोगबापत कर तथा अन्य शुल्क असुल भए पनि सडक मर्मतमा पर्याप्त ध्यान नदिइएको गुनासो गरेका छन्। व्यस्त व्यापारिक तथा औद्योगिक मार्गमा सडकको दुरवस्थाका कारण सवारीसाधनमा क्षति पुग्नुका साथै दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ छ।
स्थानीय तथा चालकहरूले तत्काल सडक मर्मत गरी खाल्डाखुल्डी पुर्नुका साथै नियमित अनुगमन र मर्मतसम्भारको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
साभार // प्रतीक दैनिक






