वीरगंज ४ असोज । बाराका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीसँग वीरगंज उद्योग वाणिज्य संघले भेटघाट तथा छलफल गरेको छ ।
संघका अध्यक्ष हरि प्रसाद गौतमको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी अधिकारीलाई स्वागत गर्दै उद्योगी व्यवसायीका विभिन्न समस्या तथा औद्योगिक सुरक्षाका विषयमा छलफल गरेको हो ।
कार्यक्रममा संघका अध्यक्ष गौतमले औद्योगिक करिडोरमा उद्योग तथा व्यवसाय सञ्चालनका लागि शान्ति सुरक्षाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उद्योगी व्यवसायीको लगानी र सम्पत्तिको सुरक्षालाई प्राथमिकतामा राख्न प्रमुख जिल्ला अधिकारी अधिकारीको ध्यानाकर्षण गराउनुभयो । उहाँले उद्योग क्षेत्रमा देखिएका सुरक्षा तथा अन्य व्यावहारिक समस्याको समाधानका लागि प्रशासन र निजी क्षेत्रबीच निरन्तर समन्वय आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी संघका निवर्तमान अध्यक्ष अनिल अग्रवालले औद्योगिक क्षेत्रमा देखिएका सुरक्षा चुनौती, करसम्बन्धी विषय तथा व्यवसायीले भोग्दै आएका समस्याबारे प्रमुख जिल्ला अधिकारी अधिकारीको ध्यानाकर्षण गराउनुभयो । उहाँले उद्योगी व्यवसायी र प्रशासनबीच निरन्तर संवाद तथा समन्वय आवश्यक रहेको बताउनुभयो ।
संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले उद्योग तथा व्यवसाय क्षेत्रले भोग्दै आएका विभिन्न समस्या प्रस्तुत गर्दै वैध रूपमा सञ्चालन भइरहेका उद्योग व्यवसायलाई सहज वातावरण उपलब्ध गराउन प्रशासनसँग सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले औद्योगिक क्षेत्रको सुरक्षा मजबुत भएमा लगानीको वातावरण थप विश्वासिलो बन्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले वैध तथा नियमसंगत व्यवसायलाई प्राथमिकता दिँदै उद्योगी व्यवसायीलाई सहज वातावरण निर्माण गर्न प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले औद्योगिक क्षेत्रको सुरक्षालाई प्रभावकारी बनाउन क्विक रेस्पोन्स टिम (QRT) गठन गरी आवश्यक अवस्थामा तत्काल सुरक्षा परिचालन गर्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो । औद्योगिक सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले उद्योगी व्यवसायीलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन प्रशासनले आवश्यक सहजीकरण गर्ने बताउनुभयो ।
प्रजिअ अधिकारीले सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सहज, सरल र मैत्रीपूर्ण वातावरण उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सेवाग्राहीले अनावश्यक झन्झट बेहोर्न नपर्ने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उहाँको भनाइ थियो ।
कार्यक्रममा संघका उपाध्यक्ष आशिष लाठ, सचिव प्रेमचन्द्र गोयल, सहसचिव अनुप अग्रवाल लगायत कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो ।
उद्योग तथा व्यवसायमैत्री वातावरण निर्माण, औद्योगिक सुरक्षा, करसम्बन्धी विषय तथा निजी क्षेत्रले भोग्दै आएका समस्याको समाधानका लागि आगामी दिनमा समेत सहकार्य र समन्वयलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो ।






