जिराभवानीमा आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा विवादपछि स्थगित

1200x150_1200x150-01.jpg (1)

पर्सा , असोज ५ –

जिराभवानी गाउँपालिका–स्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा आर्थिक कारोबार र नयाँ कार्यसमिति गठनको विषयमा विवाद भएपछि स्थगित भएको छ।

आइतबार जिराभवानी मन्दिरको प्राङ्गणमा भएको सभामा अध्यक्ष सत्यनारायण साहले विगतको आर्थिक कारोबारको लेखापरीक्षणअनुसार आय–व्यय विवरण प्रस्तुत गर्ने क्रममा सहभागी उपभोक्ता तथा युवाहरूले आर्थिक कारोबारसम्बन्धी प्रश्न उठाएका थिए। बैंक स्टेटमेन्ट, बिल–भर्पाइ र अन्य आर्थिक कागजात सार्वजनिक गर्न माग गरिएपछि विवाद बढेको हो।

सभामा नयाँ कार्यसमिति गठनको विषयमा समेत विवाद भएको थियो। विधानअनुसार कुल उपभोक्तामध्ये ५१ प्रतिशतको उपस्थिति भएपछि मात्रै कार्यसमिति गठन गर्न सकिने व्यवस्था रहेको अध्यक्ष साहले बताएका छन्। अध्यक्ष पदका लागि प्रस्तावित नाम विधानअनुसार योग्य भए–नभएको विषयमा समेत प्रश्न उठेपछि निर्वाचन प्रक्रिया अघि बढ्न सकेन।

समितिको विधानमा प्रत्येक तीन वर्षमा साधारणसभा गरी कार्यसमिति पुनर्गठन गर्नुपर्ने व्यवस्था भए पनि विगत ७/८ वर्षदेखि साधारणसभा हुन नसकेको सहभागीहरूले बताएका छन्।

विवादपछि साधारणसभा एक साताका लागि स्थगित गरिएको छ। आगामी शनिबार आवश्यक प्रक्रिया पूरा गरी निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गर्ने सहमति भएको बताइएको छ। त्यसअघि विगतको आर्थिक कारोबारसम्बन्धी आवश्यक कागजातबारे स्पष्टता ल्याउनुपर्ने माग उपभोक्ताहरूले गरेका छन्।

सम्बन्धित पोस्टहरुः