काठमाडौं । विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउन सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठले भोजपुर जिल्लास्थित एक विद्यालयको नयाँ भवन निर्माणको अन्तिम बिल भुक्तानीमा विभिन्न प्राविधिक समस्या देखाउँदै सेवाग्राहीलाई दुःख हैरानी दिएका थिए।
अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढाउन विभिन्न बहाना बनाई उनीहरूले सेवाग्राहीसँग १ लाख ३५ हजार रुपैयाँ घुस मागेको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ। माग गरिएको रकममध्ये ५० हजार रुपैयाँ रविन श्रेष्ठको बैंक खाताको क्यूआरमार्फत जम्मा गर्न लगाइएको र बाँकी ८५ हजार रुपैयाँ इन्जिनियर सुमन राईले नगद बुझेको आयोगले जनाएको छ।
घुस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले इन्जिनियर राईलाई ललितपुरबाट तथा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले लेखा अधिकृत कार्की र सब–इन्जिनियर श्रेष्ठलाई धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा तीनै जनाले आपसी पूर्वयोजनाअनुसार घुस रकम बाँडीचुँडी लिने सहमति गरेको समेत खुलेको आयोगको दाबी छ।
प्रतिवादीहरू राई, कार्की र श्रेष्ठको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको भन्दै अख्तियारले १ लाख ३५ हजार रुपैयाँ बिगो कायम गरेको छ। उनीहरूलाई ऐनको सम्बन्धित व्यवस्थाअनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गर्दै सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।






