वीरगंज , असोज ९ –
वीरगंज महानगरपालिकाले नगरवासीलाई कर तिर्न सहज बनाउने उद्देश्यले अब सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर संकलन गर्ने व्यवस्था लागू गरेको छ।
महानगरपालिकाले शुक्रबार जारी गरेको सूचनाअनुसार असोज १२ गतेदेखि महानगरका सबै ३२ वटै वडा कार्यालयबाट अनिवार्य रूपमा मालपोत कर संकलन गरिनेछ।
नगरवासीलाई घरदैलो नजिकैबाट सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने नीति अनुरूप वडा कार्यालयबाटै मालपोत कर संकलनको व्यवस्था गरिएको मेयर राजेशमान सिंहले बताए। अब जग्गाको मालपोत कर बुझाउन महानगरपालिका कार्यालयमै धाउनुपर्ने बाध्यता हट्ने उनले बताए।
नगरवासीलाई सेवा लिन अनावश्यक झन्झट नहोस् र आफ्नै वडा कार्यालयबाट सहज रूपमा सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले वडा तहबाटै कर संकलनको व्यवस्था गरिएको मेयर सिंहको भनाइ छ।
महानगरपालिकाबाट प्रवाह हुने सेवाहरूलाई सकेसम्म नगरवासीको घरदैलो नजिक पुर्याउने तथा सेवा लिन लाग्ने समय र खर्च बचत गराउनेतर्फ महानगरपालिका निरन्तर अघि बढिरहेको उनले बताए।
वडा कार्यालयबाटै मालपोत कर संकलनका लागि आवश्यक व्यवस्था मिलाउन ३२ वटै वडा कार्यालयलाई निर्देशन दिइसकिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले जानकारी दिए।






