सप्तरी , असोज ९ –
सप्तकोशी नदीमा जलसतह बढेसँगै कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएको छ। आज दिउँसो ब्यारेजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक मापन गरिएको छ।
कोशी ब्यारेजमा जम्मा ५६ वटा ढोका रहेका छन्। जलसतह निरन्तर बढिरहेकाले तल्लो तटीय क्षेत्रमा जोखिम बढेको जनाइएको छ।
बाढी पूर्वानुमान महाशाखाले सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा पर्सिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले नदी आसपासका बासिन्दालाई सतर्क रहन तथा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।






