पर्सा , असोज १० –
बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा क्रमशः कमजोर हुँदै गए पनि पश्चिमी क्षेत्रमा भने भोलिसम्म कायमै रहने मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा भोलि दिउँसोसम्म मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ । पछिल्लो ६ घण्टामा कोशी र बागमतीमा हल्का वर्षा भएको छ भने मधेशमा वर्षा भएको छैन ।
लगातार तीन दिनदेखि परेको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोले जनधन तथा भौतिक संरचनामा क्षति पुर्याएको छ । बागलुङको ताराखोला गाउँपालिका–५ मा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको छ ।
नारायणी नदीको बाढीले पश्चिम नवलपरासीको सुस्ता–५ जलमग्न भएपछि सशस्त्र प्रहरीले २९ जनाको उद्धार गरेको छ । पूर्वी नवलपरासीको अमलटारी क्षेत्रमा समेत दर्जनौँ घर डुबानमा परेका छन् । गण्डक ब्यारेजमा पानीको बहाव ३ लाख ७६ हजार ८ सय क्युसेक पुगेपछि सबै ढोका खोलिएको छ ।
सप्तरीको तिलाठी कोइलाडीमा कोशी नदीको बाढी बस्तीमा पसेपछि १७ परिवार विस्थापित भएका छन् । गुल्मीको रिडीमा कालीगण्डकीको बहाव बढेपछि सात परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
त्यस्तै, गोरखाको राइनस बजार नजिक पहिरो खस्दा २५ घरधुरी उच्च जोखिममा परेका छन् भने कास्कीको घान्द्रुकस्थित प्रहरी चौकीको भवनमा समेत पहिरोले क्षति पुर्याएको छ । सुर्खेतमा रुख तथा बिजुलीका पोल ढल्दा विद्युत् सेवा अवरुद्ध भएको छ ।
मौसमविद् रोजन लामिछानेले पूर्व र पश्चिम दुवै क्षेत्रमा बाढी तथा पहिरोको जोखिम रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र यात्रा गर्नैपरे प्रहरीसँग सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेका छन् ।
आइतबारसम्म वर्षाको प्रभाव रहे पनि सोमबारदेखि देशभर मौसममा सुधार आउने पूर्वानुमान रहेकाले त्यसपछि मात्र नियमित काम तथा कृषि गतिविधिको योजना बनाउन सुझाव दिइएको छ ।







