वीरगंज, १० असोज — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका चालक सागर कर्णको पीडित परिवारलाई वीरगंज युवा समाजले घरमै पुगेर राहत सामग्री तथा नगद सहयोग हस्तान्तरण गरेको छ।
वीरगंज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मी (कोहरी), पर्सा निवासी सागर कर्ण परिवारका मुख्य कमाउने व्यक्ति थिए। उनी सवारी चालकका रूपमा कार्यरत रहेकै बेला भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका हुन्। परिवारको एकमात्र आर्थिक आधार गुमेपछि दुई साना बालकहरू, वृद्ध आमाबाबु र श्रीमती सरिता कर्णलाई अहिले हातमुख जोड्नै धौ-धौ परिरहेको छ।
अधिकांश राहत सामग्रीहरू बाढी प्रभावित क्षेत्रमै केन्द्रित भइरहेका बेला, पर्सामा भोकभोकै बस्ने अवस्थामा पुगेको यो पीडित परिवारको मर्म बुझेर वीरगंज युवा समाजको टोली उनीहरूकै घरमा पुगेको हो। समाजले बेपत्ता कर्णकी श्रीमती सरिता कर्णलाई खाद्यान्न, तरकारी, सरसफाइका सामग्री (साबुन, सर्फ) तथा नगद रु. ५,१०० (पाँच हजार एक सय) राहत स्वरूप हस्तान्तरण गरेको छ।
राहत वितरण कार्यक्रममा वीरगंज युवा समाजका अध्यक्ष संजीव थापाले प्राकृतिक विपत्तिको कुनै सीमा नहुने बताउँदै भोटेकोशीको घटनाले वीरगंजमै छिमेकीको चुलो निभ्ने अवस्थामा पुग्नु हृदयविदारक भएको उल्लेख गरे। उनले अधिकांश राहत प्रभावित क्षेत्रमै थुप्रिँदा टाढा रहेका पीडित परिवार छुट्ने जोखिम हुने भएकाले परिवारको चुलो बलोस् भन्ने उद्देश्यले ढोकमै पुगेको बताए। साथै, आगामी दिनमा पनि यस्ता विपद्मा परेका नागरिकलाई सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमका संयोजक मनोज गुप्ताले विपद्को यस घडीमा स्वतःस्फूर्त सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे।
संकटमा परेको परिवारलाई सहयोग पुर्याएकोमा बेपत्ता कर्णका बुबाले वीरगंज युवा समाजप्रति कृतज्ञता व्यक्त गर्दै जीवनमा हरेस नखाइ हौसला बढाएको यो ठूलो सहयोग भएको बताए।
हस्तान्तरण कार्यक्रममा पर्सा जिल्ला फुटबल संघका अध्यक्ष रोशन गुप्ता, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, संस्थाका सचिव विनोद धिमाल, कोषाध्यक्ष सुशील श्रेष्ठ, सदस्यहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।







